जिल्लाका कोभिड–१९ सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि कमलामाई नगरपालिकाले साउन २७ गते मङ्गलबार राती १२ बजेदेखि भदौ २ गतेसम्म अत्यावश्क सेवाबाहेक अन्य सेवा, यातायात र क्रियाकलाप निषेध गर्ने निर्णय गरेको छ ।
कमलामाई नगरपालिकाले सोमबार आयोजना गरेको सर्वपक्षीय बैठकले वडा नम्बर–६ स्थित एपोलो हस्पिटललाई आइसोलेसन सेन्टरको रुपमा व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । कमलामाई नगरपालिकाका विज्ञ सल्लाहकार सागरकुमार ढकालका अनुसार, एपोलो हस्पिटललाई आईसोलेसन सेन्टरका रुपमा व्यवस्थापन गर्न लागिएको हो ।
बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनका लागि आवश्यक स्थान छनौट गर्ने र सव व्यवस्थापनका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण २० सेट तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । यस्तै, जिल्लास्तरमा पीसीआर परीक्षण गर्ने ल्याव र आइसोलेसन केन्द्र स्थापनाका लागि यस अघि नै भएको निर्णयको समीक्षा गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।