प्रचण्डको दाबी- म प्रधानमन्त्री बनेपछि उत्तरी नाकामा सहज भएको छ

0 Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताएका छन् । शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्न बढी ध्यान दिएको दाबी गरे । परिणामस्वरुप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्रीको दाबी छ । उनले चिनियाँ राजदुतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमति अघि बढाउने बारेमा छलफल गरेको बताए । छलफलमा रम्परागत नाकाहरु खोल्ने, टोखा-छहरे सुरुङ मार्गको डिपिआर तयार गर्ने र हिल्सा-सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले तेस्रो पटक सरकारको नेतृत्व गरेपश्चात सबैभन्दा धेरै प्राथमिकता नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु सुचारु र व्यवस्थित गर्ने विषयमा दिएको छु । जसका कारण तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको छ । जे सहमति र सम्झौताहरु मेरो भ्रमणका क्रममा भएका छन्, ति कार्यान्वयन हुँदै जाँदा यो व्यापार व्यवसायलाई निकै ठूलो योगदान पुग्छ भन्ने मेरो विश्वास छ । त्यसका साथै उत्तरी क्षेत्रमा रहेका बासिन्दाहरुका निम्ति पनि त्यो सम्झौता र सहमतिमा भएका कुराहरुको कार्यान्वयनले निकै ठूलो महत्व राख्ने विश्वास लिएको छु । अस्ति भर्खरै पनि भ्रमणका क्रममा भएको सहमति र सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा चिनियाँ राजदुतसँग मैले कुरा गरेको थिएँ । खासगरी परम्परागत नाकाहरु खोल्ने विषयमा भएका समझदारी र टोखा-छहरे सुरुङ मार्गबारे यसको डिपिआर तयार गर्ने बारेमा र हिल्सा-सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको छ । यी सहमति मात्रै पर्याप्त छैनन् । थप कुटनीतिक पहल गर्नुपर्छ ।’

सम्बन्धित समाचार थप