समृद्ध नेपाल निर्माणको सपना एमालेको परिकल्पना : केपी ओली

0 Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्न नेकपा एमालेमात्र नभई समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताएका छन् ।

नेकपा एमाले रौतहटले गरुडामा आज आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकांक्षालाई मूर्तरूप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ(आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गरे । उनले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिए ।

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका एमले कार्यकर्ताले एक सय एक किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन आज र भोलि गरुडामा हुँदै छ । कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगाय नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।

 

 

 

सम्बन्धित समाचार थप