मोदी-प्रचण्डबीच बैठक :  नेपाल-भारत सम्बन्ध थप मजबुत हुने विश्वास

133 Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बैठकमा नेपाल र भारतको आपसी सम्बन्ध एवम् द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा विगतमा भएका समझदारी एवं सम्झौताको विषयमा विचारविमर्श भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जानकारी गराएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुई दिने औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्किएका हुन् । उनले स्वदेश फर्किएलगत्तै दुई दिने भारत भ्रमणबारे ११ बुँदे वक्तव्य जारी गरेका छन् । भारतको औपचारिक भ्रमणमा रहेका समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।

उल्लेखनीय छ, प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँ दिल्ली पुगेका थिए । दिल्लीबाट फर्किएपछि उनले जारी गरेको वक्तव्यमा समकक्षी मोदीसँगको भेटघाटमा अन्य कुराकालगाय विशेषगरी नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई राष्ट्रबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनबारे कुरा भएको बताए ।

उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको जनाएका छन् । आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको पनि उनले बताएका छन् । त्यही प्रधानमन्त्री मोदीले पनि उनको निमन्त्रणा स्वीकार गर्दै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले भने- ‘यस भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको मैले विश्वास लिएको छु। त्यसका अतिरिक्त दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको छ।’ उनले भनेका छन्, ‘आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा सम्बद्ध द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबर्द्धन गर्न मार्गदर्शन गरेको छ ।’

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई न्यानो शुभकामनाका लागि धन्यवाद दिएका छन् । बुधबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका हुन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबिचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।’

भारतमा एकपल्ट पुनः मोदी सरकार आएपछि भारत-नेपाल सम्बन्ध थप प्रगाढ भएर जाने विज्ञहरूको ठहर छ।

सम्बन्धित समाचार