घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक बर्ष २०७८/०७९ मा २ हजार १ सय ८७ वटा नयाँ उद्योग दर्ता हुदाँ त्यसमा १ हजार ५ सय ४१ वटा कृषि जन्य उद्योगहरु दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सेवामूलक ४ सय १५, र उत्पादन मूलक २ सय ३१ वटा र १ हजार ५ सय ४१ वटा कृषि जन्य उद्योगहरु गरि जम्मा २ हजार १ सय ८७ वटा उद्योगहरु दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिनु भयो । उहाँका अनुसार गत आ.व २०७७/०७८ मा जम्मा १ हजार ९ सय ४३ वटा नयाँ उद्योगहरु दर्ता भएका थिए ।
आर्थिक वर्ष २०७७/०७८मा पनि चालु आर्थिक वर्ष २०७८/०७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तु तर्फ १ हजार ३ सय २४ वटा उद्योगहरु दर्ता भएका थिए भने सेवातर्फ ४ सय ३० र उत्पादनतर्फ १ सय ८९ वटा उद्योगहरु दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७८/०७९ मा नयाँ र बाणिज्य तर्फ दर्ता भएका उद्योगहरुबाट राजश्व वापत रु २ करोड ९१ हजार ९ सय संकलन भएको कार्यालयले जनाएको छ । विगतका दिनहरुमा यस कार्यालयको अवस्था जे जस्तो रहेको भएपनि अहिले भने सेवाग्राहीहरुलाई सहज र छिटो छरितो तरिकाले सेवा प्रदान गर्दै आएको कार्यलय प्रुख गुप्ताले बताउनु भयो ।
यसबाट सेवाग्राहीहरु पनि सन्तुष्ट रहेको आफुहरुले महसुस गरेको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो । कार्यालयले प्रस्तुत गरेको प्रगति विवरण अनुसार जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ४ सय ३० जना पुरुष तथा ३६ हजार ५० जना महिलाहरुले रोजगारी पाएका छन् ।
बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सर्लाहीमा कृषिजन्य उद्योग दर्ता गराउने क्रम ह्वातै बढेको छ । बैंक तथा बित्तिय संस्थाहरुले कृषिजन्य उद्योगमा सजिलै र कम व्याजमा ऋण लगानी गर्न थालेको सर्लाहीमा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको हो।